प्रमुख समाचार

पूर्वी चितवनको राजमार्ग क्षेत्रमा कर्फ्यू

चितवन । राप्ती नगरपालिका-३ कि सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि स्थानीय प्रशासनले पूर्वी चितवनमा राजमार्ग क्षेत्रमा कर्फ्यू लगाएको छ।

चितवनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका-१ लोथरपुलदेखि राप्ती नगरपालिका-४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका छन्।

मंगलबार बेलुका ७ बजेदेखि बुधबार बेलुका साढे ७ बजेसम्म कर्फ्यू कायम रहने प्रमुख जिल्ला अधिकारी लामिछानेले बताएका छन्। कर्फ्यू लागेका बेला सडकमा लामो दूरीका सवारी साधन चल्न दिने तर मानिसहरु आवतजावत र भेला हुन रोक लगाइएको छ।

भण्डारीको मृत्युको घटना अनुसन्धानको माग गर्दै स्थानीयवासिन्दाले अवरुद्ध गरेको राजमार्ग प्रहरीले खुलाउन खोज्दा मंगलबार पनि प्रहरीसँग झडप भएको थियो।

स्थानीय वासिन्दाले पूर्वपश्चिम राजमार्ग दिउँसो ३ बजेदेखि अवरुद्ध गरेका थिए। प्रहरीले राजमार्ग खुलाउन खोज्दा भएको झडपमा परी नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरीका २ जना घाइते भएका चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए। उनले भिड नियन्त्रणका लागि गएका डीएसपीसमेत घाइते भएको बताए।

राजमार्ग क्षेत्रमा प्रदर्शन बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले कर्फ्यूको सहारा लिएको हो। प्रर्दशनकारीले पोष्टमार्टम रिपोर्टमा तलमाथि नगर्न चेतावनी दिदै घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन्।

उनीहरुले गृहमन्त्रीको राजीनामासमेत माग गरेका छन्। युवाहरुको एक समूहले चौबिसकोठी चोकमा भ्रष्ट प्रशासन चाहिदैन, शान्ति सुरक्षा कायम गर, सुजिताको अत्मालाई शान्ति दे, हामीलाई न्याय दे भन्दै नारावाजी गरेका छन्।

सो क्रममा केहीबेर प्रहरी र स्थानीयबीच झडप भएको छ। गत असार ११ गते घरबाट साथीको घरमा हिँडेकी सुजिताको आइतबार दिउँसो ११ दिनपछि सामुदायिक वनमा शव फेला परेको थियो।

उनको अपहरणपछि हत्या भएको परिवार र स्थानीयको भनाइ छ। उनको शव पोष्टमार्टमका लागि काठमाडौं लगिएको छ। घटनास्थल नजिकै मंगलबार सुजिताले प्रयोग गर्ने मोवाइल पनि भेटिएको छ। मोवाइलमा सिमकार्ड भने नभएको प्रहरीको भनाइ छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close