खेलकुद

बिहानै पेरुको सामना गर्दै ब्राजिल, यस्तो छ ‘हेड टु हेड’ नतिजा

काठमाडौं । कोपा अमेरिका २०२१ का सेमिफाइनलका म्याच भोलि (मंगलबार)देखि सुरु हुँद्रछन् । यो पटक पहिलो सेमिफाइनलमा आयोजक ब्राजिल र पेरु खेल्नेछन् ।

यी दुई टोलीबीचको खेल रियो दि जेनेरियोमा बिहान ४ः४५ बजेदेखि सुरु हुनेछ ।

कोपा अमेरिका २०२१ मा ब्राजिल र पेरु दोस्रो पटक एकअर्काविरुद्ध खेल्न लागेका हुन् । यसअघि समूह चरणमा भएको खेलमा ब्राजिलले पेरुलाई ४-० गोल अन्तरले हराएको थियो ।

ब्राजिलले अन्तिम आठमा चिलीमाथि १-० को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

पेरुले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो ।

खेलमा ब्राजिलका फरवार्ड गाब्रियल जेसस उपलब्ध हुनेछैनन् । चिलीविरुद्धको खेलमा रातो कार्ड पाएका कारण उनी एक खेलको प्रतिबन्धमा छन् ।

नेयमारसँगै रिचार्लीसन र रोबर्टो फिर्मिनो अग्रपंक्तिमा हुनेछन् । फ्रेड र कासेमिरो मिडफिल्डेनमा हुनेछन् ।

एथ्लेटिको म्याड्रिडका डिफेन्डर फिलिप घाइते भएका कारण पेरुविरुद्ध खेल्नेछैनन् ।

ब्राजिलले पछिल्लो ११ खेलयता हारको सामना गरेको छैन । सन् २०२० र २०२१ खेलेका आठ खेलमा ब्राजिलले गोल खाएको छैन । पेरुले पछिल्लो पटक सन् १९९५ मा कोपाको उपाधि जितेको थियो ।

सन् २०१९ को फाइनलमा पुगेको पेरु उपाधि भिडन्तमा ब्राजिलसँग पराजित भएको थियो ।

पछिल्ला पाँच म्याचको कुरा गर्दा ब्राजिलले पेरुलाई चार खेलमा हराएको छ । उसले २०१९ मा भएको मैत्रिपूर्ण खेलमा भने पेरुसँग १-० गोल अन्तरले हारको सामना गरेको थियो ।

हालसम्म ब्राजिल र पेरुबीच ४९ म्याच भएको छ । जसमा पेरुले ब्राजिललाई ९ खेलमा मात्र हराउन सकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close