प्रमुख समाचार

तीन दर्जन बढी संस्थामा आवद्ध समाजसेवी शाक्य रहेनन्, मुसिकोटले गुमायो अग्रणी अभिभाबक

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सार निवासी समाजसेवी सुदर्शन शाक्यको निधन भएको छ ।

२०२५ सालमा जन्मिनुभएका उहाँको ५२ बर्षको उमेरमा रुपन्देहीमा उपचारको क्रममा निधन भएको हो । मुटुमा समस्या देखिएपछि केही दिन अघि बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उहाँ भर्ना हुनुभएको थियो । शनिवार उहाँको एन्जिओप्लास्टिक विधिबाट उपचार गरीएको थियो । उहाँको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको भन्दै अस्पताललेृ डिस्चार्जको तयारी गरेको थियो । तर गयराती मध्यरातमा उहाँको अचानक हृदयघातको कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

समाज रुपान्तरणको संवाहक, नगरपालिकाकै एक कुशल अभिभाबक – शाक्य नगरपालिकामा करिब ३ दर्जन भन्दा बढी संघसंस्थाहरुमा आबद्ध हुनुभएको थियो । दर्जन बढी संस्थाहरुमा अध्यक्षकै रुपमा उहाँले भूमिका निर्वाह गर्नुभयो । उहाँकै नेतृत्वमा २०७० सालमा सामुदायिक रेडियो पुष्पाञ्जली वामीटक्सारमा स्थापना भइ यस क्षेत्रमा सञ्चार सेवाको सुरुवात भयो ।

संस्थापक अध्यक्षको रुपमा रेडियोबाट धेरै सञ्चारकर्मी र पत्रकार उत्पादन गर्न नेतृत्व गर्नुभएका उहाँले महेन्द्र आदर्श माबिका व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभाबक संघ अध्यक्षको रुपमा सेवा गर्नुभयो । वामीटक्सार स्थापित कृष्णहरी सापकोटा आँखा उपचार केन्द्र, लुम्बिनी वामी अस्पताल प्रालिको पनि उहाँ संस्थापक अध्यक्ष हुनुभयो ।

गत निर्वाचनमा मुसिकोट ७ वामीमा वडाध्यक्षको चुनावमा नेपाली काँग्रेसका उम्मेद्वार रहनुभएका उहाँ अहिलेसम्म काँग्रेसको मुसिकोट नगरसमति अध्यक्षको रुपमा भूमिकामा हुनुभयो । अघि बढ्न चाहने जो कोहीलाई पनि निरुत्साहन नगर्ने उहाँको निडर, हक्की र मानवीय स्वभावको वामी मात्र नभएर मुसिकोट तथा आसपासका मानिसहरुपनि फ्यान रहेका छन् । सिवाईसी नेपालमा पनि आबद्ध रहनुभएका उहाँको जीवन नै ब्यापार ब्यबसायमा ब्यतित रह्यो । गुल्मी मुसिकोट उद्योग वाणिज्य संघको अध्यक्ष रहनुभएका उहाँको वामीमा भब्य फेन्सी पसल पनि रहेको छ ।

नेवा बर्जु पुचः, बुद्ध विहार, माइकास्थान, गोल्डेन फ्युचर एकाडमी, रुद्रावति बहुमुखी क्याम्पस लगायतमा पनि उहाँ आबद्ध हुनुहुन्थ्यो । दर्जनौ संघसंस्थाहरुमा आबद्ध रहनुभएका उहाँलाई वामीबासीहरुले समाजसुधार र परिवर्तनको संवाहकको रुपमा सम्मान गर्ने गर्दछन् । खासगरी सुगरको समस्या रहेको बताइएपनि पछिल्लो समय उहाँमा मुटुको पनि समस्या देखिएको बताइएको छ ।

उहाँका २ छोरा तीन छोरी रहेका छन् । छोराहरु अध्ययन गर्दै छन् भने छोरीको विवाह भइसकेको छ । रुपन्देहीमा रहेको उहाँको शव आजै गुल्मी तम्घास स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा श्रद्धाञ्जलीको लागि राखिदै छ । त्यसपछि वामीटक्सार ल्याएर केहीबेर श्रद्धाञ्जलीको कार्यक्रम रहेको र त्यसपछि दाहसंस्कार गरिने महेन्द्र आदर्श नमुना माबिका शिक्षक सरोजराज बौद्धाचार्यले जानकारी दिनुभयो ।

उहाँको निधनले वामीमात्र नभएर मुसिकोट नगरपालिका तथा आसपासका क्षेत्रका बासिन्दा पनि शोकमग्न भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close