मनोरंजन
नायिका पारमिताका दुःख, पारिश्रमिक नदिने निर्माताको नाम सार्वजनिक गर्ने धम्की

काठमाडौँ : नायिका पारमिता आरएल राणाले पारिश्रमिक नपाए निर्माताको नाम सार्वजनिक गर्ने धम्की दिएकी छन्। उनी यति बेला फिल्ममा खासै व्यस्त छैनन्।
केही म्युजिक भिडियो र धेरैजसो फेशन फोटोग्राफीमा समय बिताउने उनले पारिश्रमिक नपाए निर्माताको नाम सार्वजनिक गर्ने धम्की दिएकी हुन्।
समय समयमा विभिन्न विवाद झिकेर चर्चामा आउन सिपालु उनी अहिले फेरि पारिश्रमिक नपाएको भन्दै सामाजिक सञ्जालमा पोखिएकी छन्। फुर्सदमा भएकी नायिकाले पारिश्रमिक नपाएको गुनासो गर्दा धेरैले काम पनि नदिएको, पैसा पनि नदिएको भन्दै उल्टै पारमितालाई नै जिस्काएका छन्।
पारमिताले भने सामाजिक सञ्जालमा आफूले काम गरेको परिश्रमको मोल नपाएको लेखेकी छन्।
उनले लेखेकी छन्, मलाई यो भनिरहँदा दुःख लागेको छ तर एउटै विकल्प यही हो। मैले एउटा फिल्ममा काम गर्दा त्यसको पारिश्रमिक एक वर्षपछि मात्रै पाएँ।
पारमिताले स्ट्याटसमा नेपाली म्युजिक तथा फिल्म क्षेत्रमा आउँदा पहिले नै आर्थिक पाटोमा मानसिक रूपमा तयार भएर आउन सुझाव समेत दिएकी छन्।