समाचार

‘सबैसँगको साथ छुट्यो, म एक्लो भएँ’ भन्दै जब रामकुमारीले योगेश घनश्याम र गोकर्णको अगाडी आँशु खसालीन्, सबै नेता धरधरी रोए

काठमाडौं । नेकपा एमालेमा संघर्ष चल्दा दोस्रो तहका नेताहरु माधव नेपालको साथमा थिए । तर जब माधव नेपालले नयाँ पार्टी दर्ता गरे उनलाई साथ दिँदै आएका दोस्रो तहका नेताहरु उनीसंग थिएनन् । नेपाललाई तेस्रो तहका नेता र कार्यकर्ताले मात्र साथ दिए । सुरु देखि अन्त्य सम्म साथ दिए एक नेता थिइन् रामकुमारी झाँक्री ।

अखिल देखि पार्टीको केन्द्र सम्म आइपुग्दा झाँक्रीले धेरै नेताहरुसंगै काम गरिन् । उनी अखिलमा रहँदा नेता ठानेका अखिलकै नेताहरु पनि माधवको साथ छोडेर अन्त्यमा ओलीको पक्षमा गएपछि झाँक्री एक्लै भएकी छन् । यस्तो अवस्थामा लामो समय पछि फेरी भेटिएका ति नेताहरुको अगाडी झाँकी्रले आँशु झारेकी छन् ।

विभाजन अघिसम्म उपमहासचिव घनश्याम भुसालसहितका १० स्थायी कमिटी सदस्य माधवकै पक्षमा थिए । तर, विभाजनको संघारमा उनीहरूले नेपालको साथ छोडे । युवा पुस्ताका समकालीन र केहीको जुनियर मानिने झाँक्री माधव खेमामा पुगिन् । पार्टी फुटे पनि समकालीन र युवा पुस्ताका अग्रज नेतासँग उनको साथ छुट्ने कुरै भएन । झाँक्री घनश्यामलाई भेट्न उनकै नेतृत्वमा रहेको नेपाल अध्ययन केन्द्रमा भेट्न पुगिन् ।

घनश्यामसँग सामान्य शिष्टाचारपछि सुरु भयो झाँक्रीको गुनासो । सँगै रहेका एक नेताले बताएअनुसार सुरुमा झाँक्रीले पार्टी फुटेकामा घनश्यामसँग चित्त दुखाइन् । लगत्तै युवा पुस्ताका आफ्ना समकक्षी र आफूभन्दा सिनियर नेताको साथ छुटेकोमा दुःखी पनि भइन् । घनश्यामले जब नेपालका केही कमीकमजोरी र आफूले साथ छोड्नु परेको बाध्यता सुनाए, झाँक्रीले तरक्क आँसु खसालिन् । झाँक्रीको भनाइ थियो, ‘सबैसँगको साथ छुट्यो, म एक्लो भएँ ।’

ती नेताकाअनुसार त्यसपछि अनौपचारिक संवादमा बसेका सबै नेताका आँखा रसाए । तर, कसैले पनि एकअर्कालाई दोष दिएनन् । गाली गरे त मात्र मूल नेतृत्वलाई ।

झाँक्रीले घनश्याम भुषालसमक्ष आँसु खसालेको भोलिपल्ट अर्थात् १३ भदौमा भुसाल र योगेश भट्टराई, ठाकुर गैरेलगायतका नेताले छलफल गरे, नेरास्ववियुका पूर्वपदाधिकारीसँग । पूर्वपदाधिकारी सचिवालयका सदस्यसमेत गरेर ५४ जना अखिलका नेताकार्यकर्तासँग घनश्याम र योगेशले पालैपालो पार्टी विभाजन र मूल पार्टीमै बस्नुपर्ने बाध्यताबारे तीन घन्टा कार्यकर्तालाई आश्वस्त पारे ।

भट्टराईले नेपालको साथ किन छोड्नपर्‍यो भनेर बताइरहँदा प्रसंग झिके चीनका लागि पूर्वराजदूतसमेत रहेका नेता टंक कार्कीको । नेपालले भूमिगतकालमा कार्कीलाई १० वर्षभन्दा बढी समय कसरी भूमिकाविहीन बनाए भनेर बेलीविस्तार लगाए, योगेशले । र, उनले कार्कीजस्ता थुप्रै नेताको प्रसंग निकाल्दै निस्कर्ष सुनाए( यसरी नै अन्याय गर्छन् माधवले, त्यहीँ भएरसँगै बस्न सकिएन ।

भुसालले सैद्धान्तिक विषय उठान गर्दै नेपालसँगको सहकार्य टुट्नमा आफ्नो अन्तिमसम्मको कसरत फेल भएको र रोएर छुट्टिनुपरेको बताए । उनको भाषणको बीचैमा उठिन् अखिलकी पूर्वउपाध्यक्ष भक्तकुमारी लामा । लामाको प्रश्न थियो, ‘भोलि केपी ओलीसँग फेरि रोएर छुट्टिनुपर्ने दिन आयो भने के गर्ने कमरेडरु’ भेलामा सहभागी अखिलका एक नेताकाअनुसार भुसालले यसको स्पष्ट जवाफ त दिएनन् । तर, पार्टीभित्रै संघर्ष गर्नुको विकल्प अब नरहेको सुनाए ।

गोकर्णहरू पनि रोए
पार्टी एकताका लागि गठीत कार्यदलले गरेको १० बुँदे सहमतिमा नेपाललाई मनाउन नेपाल निवास कोटेश्वर धाइरहेका थिए, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, सुवास नेम्वाङलगायतका नेताहरू । संवादका क्रममा नेपालले अघिल्लो दिन ‘पावर सेयरिङ’सहित १० बुँदेमा सहमति जनाएका थिए ।

विवाद मिलाउन सक्रिय नेताहरू उत्साहित हुँदै घर फर्किए । तर, भोलिपल्ट बिहानै नेता नेपालले फोन गरेर बोलाए विष्ट, पाण्डेलगायतका नेतालाई । त्यो भेटमा सहभागी एकजना नेताकाअनुसार नेपालले फेरि अघिल्लो दिनको सहमतिमा केही सैद्धान्तिक र व्यवहारिक प्रश्न उठाउँदै एकतामा जान नसिकने बताए ।

हतास भएका नेताहरूले नेपालकै अघि आँसु खसाल्दै अब धेरै विवाद नगरौँ भने तर नेपालले अडान छाडेनन् । अन्ततः पार्टी विभाजन भएरै छाड्यो । ती नेताकाअनुसार नेपाल निवासमा सबैभन्दा बढी चित्त दुखाएर आँसु झार्ने नेता भने गोकर्ण थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close