समाचार

नेपालमा खोप लगाएका व्यक्तिमा ९० प्रतिशतसम्म ‘एन्टिबडी’ विकास

काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिहरूमा ९० प्रतिशतसम्म ‘एन्टिबडी’ विकास भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार २१ देखि साउन अन्तिमसम्म गरेको ‘सेरोप्रिभ्यालेनस’ सर्वेक्षणमा पहिलो डोज खोप लगाएकाहरूमा ८० प्रतिशत र दुवै डोज लगाएकाहरूमा ९० प्रतिशसम्म ‘एन्टिबडी’ देखिएको हो ।

मन्त्रालयका अनुसार कोभिड महामारी शुरु भएयता दोस्रो पटक देशभरबाट प्रतिनिधित्व गरी १३ हजार १६१ जनाको परीक्षण गरी विश्लेषण गरिएको थियो । सर्वेक्षणको प्रारम्भिक नतिजामा ६८.६ प्रतिशत नमुनामा कोभिड १९ एन्टिबडी देखाएको थियो । सर्वेक्षणमा सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, शहर तथा सबै उमेर र लिङ्गका व्यक्तिहरूमा समान रूपमा ‘एन्टिबडी’ देखिएको मन्त्रालयले जनाएको छ ।

यो पनि, सङ्क्रमित दैनिक घट्दै
दुई साताअघि यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ७०० नाघेकामा अहिले त्यो सङ्ख्या जम्मा २२३ मा झरेको छ । धवलागिरि अस्पतालका अनुसार शनिबार १२४ जनामा कोरोना जाँच गरिएकोमा २९ जनामा मात्र सङ्क्रमण पुष्टि भएको छ । यस्तै शुक्रबार ९४ जनामा कोरोना परीक्षण गर्दा जम्मा २४ जनामा सङ्क्रमण देखिएको थियो । यो आँकडाले नयाँ सङ्क्रमित घट्दै गएको र निको हुनेको सङ्ख्या भने बढिरहेको देखाउँछ । सङ्क्रमण दर बढेपछि जोखिम घटाउन साउन २८ गतेदेखि गत बिहीबारसम्म यहाँ निषेधाज्ञा कडा बनाइएको थियो ।

निषेधाज्ञा कडाइ गर्दा सङ्क्रमणमा केही कमी आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताउनुभयो । “भित्रभित्र सङ्क्रमित लुकेका हुनसक्छन्, मानिसमा जाँच्न हिच्किचाउने प्रवृत्ति छ”, उहाँले भन्नुभयो, “सङ्क्रमित घटे भनेर ढुक्क हुने स्थिति छैन, जाँचको दायरा बढाउनुपर्छ ।” जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने र सर्वसाधारण स्वयं आफैँ सचेत नहुने हो भने पुनः सङ्क्रमण बढ्ने जनस्वास्थ्य अधिकृत खनालको भनाइ छ । केही दिनयता सदरमुकामका चोकचोकमा एन्टिजेन विधिबाट समेत नियमित कोरोना परीक्षण भइरहेको छ । स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले सङ्क्रमण स्थिर देखिएको बताउनुभयो ।

सङ्क्रमण दर घटेसँगै अस्पतालमा कोरोनाका बिरामी पनि घटेका छन् । धवलागिरि अस्पतालको आइसोलेशन कक्षमा जम्मा पाँच सङ्क्रमित उपचाररत रहेको स्रोत व्यक्ति घिमिरेले जानकारी दिनुभयो । सङ्क्रमण उच्च हुँदा दैनिक ३५÷४० जनासम्मलाई उक्त अस्पतालमा राखेर उपचार गर्नुपर्ने स्थिति थियो।

अहिले अवस्था केही सहज छ । सङ्क्रमणपछि अस्पताल आउनेको सङ्ख्या घटेको छ । गम्भीर बिरामी पनि कम छन् । जिल्लामा हालसम्म सात हजार ४४७ जनामा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमणका कारण ६६ जनाको ज्यान गएको छ । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बागलुङ नगरपालिकामा ११५ जना छन् भने तमानखोला गाउँपालिकामा सङ्क्रमण शून्य छ। शुक्रबारदेखि निषेधाज्ञा खुकुलो पारिएकाले सङ्क्रमणको जोखिम फेरि बढ्नसक्ने औँल्याउदै स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरूपमा पालना गर्न स्थानीय प्रशासन र स्वास्थ्यकर्मीले सर्वसाधारणमा आग्रह गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close