मनोरंजन

आमाबाबुलाइ देश निकाला गरेपछि नेपालमै जन्मेका थिए किरण

द भ्वाइस अफ नेपाल सिजन-३ को उपाधि किरण गजमेरले जितेका छन्। शनिबार राति भएको ग्राण्ड फिनालेमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै अमेरिका बस्दै आएका किरणले उपाधि जितेका हुन्।

भ्वाइस अफ नेपाल सिजन थ्रीका विजेता गजमेरले २५ लाख रुपैयाँ पाएका छन्। उनले विजेताका रुपमा वर्ल्ड टुरको पनि मौका पनि पाएका छन्। द भ्वाइस अफ नेपालको ग्राण्ड फिनालेको प्रत्यक्ष प्रसार हिमालय टेलिभिजन र युट्युवबाट गरिएको थियो। गत साताको सेमिफाइनलबाट चारवटा टिमका एक-एकजना प्रतिभा ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए।

संकटबीच चर्चित गायन रियालिटी सो द भ्वाइस अफ नेपालले तेस्रो विजेता पाएको हो। कोच दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङको टिमबाट एक–एक जना उत्कृष्ट प्रतिभा ग्राण्ड फिनालेमा पुगेका थिए।

यो सिजनको ग्राण्ड फिनालेमा टिम दीपबाट दार्जिलिङका आर्यन तामाङ, टिम प्रमोदबाट हाल अमेरिकामा रहँदै आएका किरण गजमेर, टिम राजुबाट बागलुङकी तारा श्रीष मगर र टिम तृष्णाबाट भोजपुरका ज्वाला राईबीच प्रतिस्पर्धा भएको थियो।

‘देखेर तिमीलाई, हेरेर तिमीलाई…’, यो गीतको रचयिता हर्क साउद हुन् भने संगीत सुजन चापागाईंको । यसमा चापागाईं स्वयं र विद्या तिवारीको स्वर छ । लकडाउनका वेला निकै नै चर्चित बनेको यो गीत गत साता ‘भ्वाइस अफ नेपाल’मा पनि सुनियो । भ्वाइस अफ नेपालमा फरक स्वर र स्वादमा गुन्जिएपछि यो गीत पुनः एकपटक जुर्मुराएको छ ।

भ्वाइस अफ नेपालमा यो गीत गाएका थिए किरण गजमेरले । किरण उनै हुन्, जो १० वर्षअघि सन् २०११ मा सपरिवार अमेरिका गएका थिए । किरणका बा, हजुरबा हजुरआमा भने सन् १९९३ मा नेपाल आएका थिए, भुटानी शरणार्थी बनेर । शरणार्थी शिविरमै किरणका बाआमाको विवाह भयो । किरण यतै जन्मिए ।

अहिले त किरण अमेरिकाको बासिन्दा बनिसकेका छन् । बाल्यकाल भने नेपालमै बिताए । बाँसको फक्ल्याँटोले बारेको घर, चुहिने छानोमा ओत लागेर सकियो उनको बाल्यकाल । त्यही बाल्यकालमै किरणले संगीतको सुर सिके । गलालाई तिक्खर बनाउने कोसिस गरे । ‘त्यसवेला हामीसँग केही थिएन, आफैँ सिक्थेँ, आफैँ गाउँथेँ,’ किरण सुनाउँछन् ।

अमेरिका पुगेको ११ वर्षपछि उनी रियालिटी सोमा भिड्न नेपाल आए । नेपाल आएर झापा गए, जहाँ उनको बाल्यकाल बितेको थियो । तर, त्यहाँ त सबथोक परिवर्तन भइसकेको रहेछ । पहिला टुकीको उज्यालोमा पढ्थे, बत्ती आइसकेछ । बाँसको फक्ल्याँटोले बारेका घरहरू थिए, जस्तापाता आइसकेछ । माटोले लिपेको भुइँ थियो, सिमेन्टको कंक्रिट बनिसकेछ । किरण बसेको शिविर र घर भएको ठाउँ त जंगल बनिसकेछ । ‘अस्ति जाँदा मलाई घरै ठम्याउन गाह्रो भयो ।

हामी बसेको ठाउँ त जंगल बनिसकेछ । धन्न सुपारीको रूख ढलेको रहेनछ र पत्तो लगाएँ,’ किरण सुनाउँछन्, ‘नेपालको माटोको गन्धसँग परिचित छु । गाउँघरको याद आउँछ । त्यही भएर पनि सुपारीको रूख देख्नासाथ चिन्न सजिलो भयो ।’
उता भुटानमा पनि किरणको टन्न जग्गा थियो । त्यहाँ सुन्तला लटरम्म फल्थे । बस्तुभाउ थिए । किरण त यतै जन्मिए, तर उनका बाआमा, हजुरबाहरू भुटानको आफ्नो जग्गाबारे कुरा गरिरहन्छन् ।

‘एकपटक जान पाए हुने’ भन्ने इच्छा प्रकट गरिरहन्छन् । तर, तत्काल सम्भव छैन । उनी भन्छन्, ‘बाआमाको कुरा सुन्दा मलाई पनि जाऊँजाऊँ लाग्छ । आफ्नो माटोको माया त लागिहाल्छ नि ! यता काठमाडौंमा बस्दा पनि जहिल्यै झापा जाऊँजाऊँ लागिरहन्छ ।’

भुटानबाट किरणको परिवारले केही लिएर आएको थिएन, जीउमा लगाएको कपडाबाहेक । भाग्दैभाग्दै आएका थिए । यतै आएर सानोतिनो टहरा ठडाए । पछि किरणको परिवार अमेरिका गयो, अरू शरणार्थीहरू पनि गए । बाँकी अझै शरणार्थी यतै छुटेका छन् । उनीहरू बाहिर जान पाउँदैनन् । न नेपालको नागरिकता छ । पहिला विविध संस्थाले रासन दिने गर्र्थे, अहिले आफैँ कमाएर खानुपर्ने बाध्यता रहेको किरणले यतै आएर थाहा पाए । ‘यस्तो अवस्था देख्दा एकदमै दुःख लाग्छ । आफ्नो भूमि छाडेर बाँच्नुपर्‍यो । अहिले न नागरिकता छ, न केही । त्यसरी नै धेरैवटा पुस्ता सकिँदै छ,’ किरण भन्छन् ।

भुटानबाट लखेँटिँदा उनीहरूले माटो छाडे । भएको जग्गा–जमिन र सम्पत्ति छाडे । मुलुक छाडे । त्यही भाषा, संस्कृतिमाथिको लडाइँकै कारण आफ्ना पुर्खा भाग्नुपरेको किरणको गुनासो छ । ‘तर, लखेटेर जहाँ पु¥याए पनि भाषा, संस्कृति त मरेको हुँदैन नि ?,’ किरणको प्रश्न हो यो ।

उनले अमेरिका पुगेपछि महसुस गरे, धेरैले नेपाली भाषा बिर्सँदै छन् । संस्कृति, पोसाक बिर्सँदैछन् । उनीहरू आफ्नो पहिचानप्रति चासो राख्दैनन् । यसैले पनि आफूलाई नेपाली संगीतले तानिरहने बताउँछन् उनी । भन्छन्, ‘मेरो उमेरका धेरै साथीहरूले नेपाली भाषा बिर्सिसकेका छन् । पछि आउने पुस्ताले त झनै बिर्सनेछ । त्यसैले, संगीतको माध्यमबाट आफूले सकेको कोसिस गरूँ, भाषा, संस्कृतिबारे अवगत गराऊँ भनेर संगीतमा लागेको हुँ ।’

संगीतप्रतिको किरणको अभिरुचि भक्तराज, बच्चु कैलाशलगायत दिग्गज गायकले निर्माण गरिदिए । झापाको शिविर बसाइका क्रममा उनका गुरुहरूमा पनि यिनै अग्रजका खारिएका स्वर र संगीतहरू थिए । साथमा थिए हजुरबा, जो मादल बनाउँथे । किरणलाई बजाउन सिकाउँथे । एल्बमको तयारीमा रहेका उनी भन्छन्, ‘जे सुनेर हुर्कियो, त्यसैको चाह र आदत बस्नेरहेछ । त्यसैले मलाई संगीतले नै फेरि नेपाल ल्याइदियो ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close