राजनीति

मुख्यमन्त्री निवासमा सांसद बन्धक !

रुपन्देही — लुम्बिनी प्रदेशसभा सदस्य विमला वली खत्री बिहीबार तनावमिश्रित अवस्थामा सार्वजनिक भइन् । उनले यस्तो तनाव केही दिनदेखि झेल्दै आएको बताइन् । गत साउन १५ देखि आफूले रोजेको दल नेकपा माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनले मुख्यमन्त्री शंकर पोखरेलको निवासमा आफूलाई ‘बन्धक’ बनाइएको दाबी गरिन् । बुटवलमा बिहीबार पत्रकार सम्मेलन गरी उनले ‘मौका छोपेर’ भाग्न सफल भएको बताइन् ।

साउन १५ मा दाङबाट मलाई नेपालगन्ज जाने भन्दै गाडीमा चढाएर बुटवलस्थित मुख्यमन्त्री निवासमा ल्याइयो,’ उनले भनिन्, ‘त्यसपछि मुख्यमन्त्रीसहितको टोलीले एमाले नै बन्न निरन्तर दबाब दिइरह्यो, मैले इन्कार गरिरहें ।’ इन्कार गरेपछि थप कडाइका साथ मोबाइल अफ गर्न लगाएर प्रदेशसभा सदस्यको निगरानीमा निवासभित्रै राखिएको उनले बताइन् । निरन्तर दबाबका बीच तीन माइन्युट र प्रेस विज्ञप्तिमा हस्ताक्षर गरेपछि बाहिर निस्कन पाइएला भन्ने विश्वास भए पनि निस्कन नदिएपछि भाग्ने योजना बनाएको उनले सुनाइन् ।

प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि विमला दाङ ३ ‘ख’ बाट २०७६ मंसिर १४ मा सम्पन्न उपनिर्वाचनबाट निर्वाचित भएकी हुन् । २०७७ फागुन २३ मा सर्वोच्चले उनी निर्वाचित दल नेकपा खारेज गरिदिएपछि उनले गत वैशाख १९ मा माओवादी केन्द्र रोज्ने निर्णय गरेको सार्वजनिक गरेकी थिइन् । त्यतिबेला पनि दुई दिन सम्पर्कविहीन बनेकी उनलाई माओवादी केन्द्रले अपहरण गरेको आरोप एमालेले लगाएको थियो । ‘मैले आफ्नै स्वेच्छाले दल रोजेकी हुँ,’ उनले भनिन्, ‘तर राजनीति र सत्ताको खेलमा मान्छे नै बन्धक बनाउने घटना भोग्दै छु ।’

उनले आफूलाई दल फेर्ने सांसदको रूपमा प्रचार गरिएको भन्दै आफूले अहिलेसम्म ‘जबर्जस्तीमा’ विज्ञप्ति सार्वजनिक गरे पनि दल र विचार नबदलेको बताइन् । शुक्रबारदेखि सम्पर्कविहीन वली सार्वजनिक भएसँगै विपक्षी दल माओवादी केन्द्रले यसअघि नै मुख्यमन्त्रीले प्रदेशसभा सदस्यलाई बन्धक बनाएर राखेको दाबी पुष्टि भएको बताएको छ ।

माओवादीका प्रमुख सचेतक तुलाराम घर्तीले सत्ता जोगाउन मुख्यमन्त्री पोखरेल आफैं प्रदेशसभा सदस्यलाई अपहरण गर्ने र बन्धक बनाउने घृणित काममा लागेको बताए । ‘योभन्दा ठूलो प्रमाण अरू के हुन सक्छ ?’ उनले भने, ‘अर्को पार्टीको सदस्यलाई पाँच दिनसम्म आफ्नै निवासमा अरूसँग सम्पर्क गर्न नदिने उद्देश्यसहित राख्नु भनेको बन्धक नै बनाएको हो ।’

पार्टीले त्यसको राजनीतिक र कानुनी उपचार खोज्ने उनले बताए । अपहरण र बन्धक बनाइएको आरोप लागेका सत्तापक्षका मुख्य सचेतक भूमीश्वर ढकालले आफू पार्टीको स्पष्टीकरण पत्र बुझाउन वलीको घर पुगेको र उनले नै मुख्यमन्त्रीलाई भेट्ने चाहना व्यक्त गरेपछि आफ्नै गाडीमा राखेर मुख्यमन्त्री निवास पुर्‍याएको बताए ।

‘मैले साउन १५ गते दाङबाट ल्याएर मुख्यमन्त्री निवासमा छोडेको सत्य हो,’ उनले भने, ‘तर उहाँले चाहना व्यक्त गरेपछि ल्याएको र उहाँकै इच्छामा बुधबारसम्म मुख्यमन्त्री निवासमा बस्नुभएको हो । बन्धक बनाइएको भन्ने अफवाह मात्र हो ।’ वलीलाई एमालेमा बस्न कुनै दबाब नदिएको र पार्टीले कारबाही प्रक्रिया अगाडि बढाएको उनले बताए ।

सांसद वलीले दिउँसो पत्रकार सम्मेलन गरेर बन्धक बनाएको आरोप लगाएपछि एमालेले अपराह्न पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेको थियो । बन्धक बनाएर राखेको विषय सार्वजनिक भएसँगै मानव अधिकार कर्मीले पनि चासो देखाएका छन् ।

मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनालले पहिला बन्धक बनाएको हल्लालाई राजनीतिक फन्डाका रूपमा हेरिए पनि अहिले सार्वजनिक भएका घटना विवरण सुन्दा वास्तविक रूपमै बन्धक बनाएको देखिएको बताए । ‘घटनाक्रम सुन्दा बन्धक नै बनाएजस्तो देखिन्छ,’ उनले भने, ‘तर पीडित पक्षबाट अहिलेसम्म न्यायका लागि हारगुहार गरेको अवस्था छैन ।’

तानातानले ‘बदनाम’

नेकपाको अस्तित्व सकिएसँगै लुम्बिनी प्रदेशमा मुख्य गरी एमाले र माओवादीबीच सत्ता जोगाउने र भत्काउने खेल जारी छ । त्यसको केन्द्रबिन्दुमा राजनीतिमा वैचारिक धरातल कमजोर रहेका प्रदेशसभा सदस्य परेका छन् । दुवै दलले कमजोर सदस्यलाई लोभ, प्रलोभन र धम्कीका भरमा दल अदलबदलमा बाध्य पार्ने प्रयास गरिरहेका छन् ।

माओवादीले गत वैशाख ६ मा सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका तीन जनालाई त्यही दिन मन्त्री बनाउँदै मुख्यमन्त्रीले बहुमत रहेको दाबी गरे । त्यसपछि वैशाख १९ गतेका लागि बोलाइएको प्रदेशसभाको विशेष अधिवेशनको दिन विश्वासको मत प्राप्त नहुने देखिएपछि बिहानै मुख्यमन्त्री पोखरेलले राजीनामा दिए र विशेष अधिवेशन अन्त्य गरिदिए ।

त्यसलगत्तै एमालेको एकल बहुमत पुग्ने दाबी गर्दै सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई अनुरोध गरे । पोखरेलले एकल बहुमत दाबी गरेपछि विमला वलीले माओवादी रोजेको घोषणा गरिन् भने कपिलवस्तुका दृगनारायण पाण्डेले प्रदेशसभा सदस्यबाट राजीनामा दिए । प्रदेश प्रमुख यादवले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेर कार्यालयमै पुगी शपथ खुवाए ।

सत्ता भत्काउने खेलमा विपक्षी गठबन्धन र जोगाउने खेलमा लागेको एमालेका कारण प्रदेशसभा सदस्यहरू बदनाम हुन थालेका हुन् । त्यसैको सिकार वली बनेकी हुन् । यसअघि जसपाकी पुर्मती ढेंगामगरलाई पनि ‘बेपत्ता’ पारिएको हल्ला चल्यो । पैसा दिएर एमालेले सरकारको पक्षमा लगेको दाबी उनकै दलले गरे पनि पछि आफैं पार्टीको सम्पर्कमा पुगेकी थिइन् । ८७ सदस्यीय प्रदेशसभा कारबाही र राजीनामा प्रकरणबाट ८० सदस्यमा खुम्चिएको छ ।

माओवादीका दुई र जसपाका तीन जना कारबाहीमा परेका छन् भने एमालेका दुई जनाले राजीनामा दिएका छन् । अहिले प्रदेशसभामा एमालेका ३८, माओवादीका सभामुख र वलीसहित १९, कांग्रेसका १९, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ सदस्य छन् । विपक्षी गठबन्धनमा सभामुखसहित कांग्रेस, माओवादी, जसपा र जनमोर्चाका गरी ४२ प्रदेशसभा सदस्य छन् । सत्ता पक्षमा ३८ जना मात्र छन् ।

संविधानको धारा १६८ को उपधारा १ अनुसार एकल दलको बहुमतको सरकारको नेतृत्व मुख्यमन्त्री पोखरेलले गरिरहे पनि उनको दल अल्पमतमा छ । दोस्रोपटक कारबाहीमा परेका जसपाका तीन मन्त्रीको पहिलो मुद्दा विचाराधीन छ, अहिले दोस्रो रिट दर्ता भएको छ । विपक्षी गठबन्धनको मागअनुसार सरकारलाई विश्वासको मत लिनका लागि प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ मा विशेष अधिवेशन आह्वान गरेका छन् । सत्तापक्षले त्यसको विरोध गरिरहेको छ ।

‘नेपालगन्ज पुर्‍याइदिन्छु भनेर बुटवल ल्याए’

म साउन १५ मा बिहान उपचारका लागि नेपालगन्ज जाने तयारीमा थिएँ । ११ बजे निस्कन लागेका बेला लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमीश्वर ढकाल, तिरन गौतम र स्थानीय नेता मानबहादुर रावत घरमै आउनुभयो । तीनै जनाले माओवादी केन्द्र छोडेर एमाले रोज्न दबाब दिनुभयो । मैले स्वीकार गरिनँ । मलाई पार्टीले कारबाही गर्न लागेको जानकारी दिनुभयो । मैले माओवादी रोजेको बताएँ । त्यसपछि मैले उपचारका लागि नेपालगन्ज जान लागेको बताएँ । ढकालजीले हामी पनि नेपालगन्ज नै जाने हो, सँगै जाऔं भन्नुभयो । मैले विश्वास गरेर उहाँहरूकै गाडीमा चढें ।

पूर्वपश्चिम राजमार्गको अमिलियामा पुगेर गाडी रोकियो । उहाँहरूले खाना खानुभयो । गाडी चढेपछि नेपालगन्ज लाग्ने गाडी बुटवलतिरै मोडियो । मैले किन यता हिँडेको भनें । उहाँहरूले मुख्यमन्त्रीले भेट्न खोज्नुभएको छ, बुटवल पुगेर भेटेर फर्किनुहोला भन्नुभयो । मैले तत्काल प्रतिवाद गरें तर मेरो कुरा सुनिएन । मैले अपहरणमा परेको ठानें । त्यसपछि मलाई मोबाइल पनि नचलाउन भनियो । म डराएँ । गाडी अन्यत्र कतै नरोकिई बुटवलस्थित मुख्यमन्त्री निवासमा पुगेर मात्र रोकियो र मलाई भित्र लगियो ।

मुख्यमन्त्री निवासको पहिलो तलामा मलाई राखेको अलिबेरपछि मुख्यमन्त्रीज्यू आउनुभयो । मलाई मेरा श्रीमान्ले एमाले पार्टीका लागि गरेको योगदानका बारेमा जानकारी गराउँदै मुख्यमन्त्रीज्यूले पनि एमालेमै बस्न दबाब दिनुभयो । पार्टीको तर्फबाट भएका गल्ती स्वीकार गर्दै अब त्यस्तो हुँदैन भन्दै सम्झाइबुझाइ गरियो । मैले आफूले जानेबुझेरै माओवादी केन्द्र रोज्ने निर्णय गरेको भन्दै अस्वीकार गरिरहें । त्यसपछि मलाई त्यो दिन त्यहीं बस्न भनियो ।

अर्को कोठामा मलाई राखियो । मसँगै दिदी पनि हुनुहुन्थ्यो । दाङकै प्रदेशसभा सदस्य एवं प्रदेशसभाकी सचेतक सरस्वती गौतमलाई पनि सँगै राखियो । भोलिदेखि अन्य माननीयज्यूहरूले पनि दबाब दिन थाल्नुभयो । मैले स्वीकार नगरेपछि तीनवटा माइन्युटमा हस्ताक्षर गर्न लगाइयो । पहिला अस्वीकार गरे पनि त्यहाँबाट निस्कन पाइने विश्वासमा मैले माइन्युटमा नपढी हस्ताक्षर गरिदिएँ । त्यसपछि पनि छुटकारा पाइनँ । साउन १९ मा पत्रकार सम्मेलन गर्न भनियो । मैले हुन्छ तर मेरा कुरा आफ्नै हिसाबले राख्छु भनेपछि प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइयो । मैले गरिदिएँ तर पनि छुटकारा नपाएपछि मन आत्तिन थाल्यो । अब जसरी पनि भाग्नुपर्छ भनेर योजना बनाएँ ।

साउन १८ मा राति नै भाग्न सकिन्छ कि भनेर सबै सुतेको बेला झ्यालबाट बाहिर हेरें तर पूरै उज्यालो थियो । भाग्ने हिम्मत आएन । भोलिपल्ट पनि योजना बनाउँदै बित्यो । राति गेट पूरै लाग्ने भएकाले सम्भव देखिनँ । दिउँसो गेटमा सुरक्षाकर्मी भए पनि भित्र आउनेलाई कडाइ गर्ने तर बाहिर जानेलाई वास्ता नगर्ने गरेको देखें । त्यसैले दिउँसै भाग्न सजिलो हुने अनुमान लगाएँ ।

१९ गते बिहान प्रदेशसभा सदस्य कमला विश्वकर्मा आउनुभएको थियो । भोलिपल्ट बिहान १० बजेतिर उहाँ केही बेरका लागि घर जाने भनेर निस्किनुभयो । तिरन गौतम पनि केही बेर पढ्छु भन्दै माथितिर लाग्नुभयो । अन्य सबै खाना खाएर आराम गरिरहेका थिए । मेरो मनमा छटपटी बढिरहेको थियो । कोही नभएकाले भाग्न सकिन्छ कि भनेर मोबाइल, पैसा, नागरिकता र एटीएम सुरुवालको गोजीमा राखें ।

भर्‍याङमा स्यान्डलको आवाज अरूले थाहा पाउलान् भनेर खाली खुट्टा भुइँ तलामा झरें तर सुरक्षाकर्मीले शंका नगरुन् भनेर तलै रहेको शौचालयको चप्पल लगाएँ । मोबाइलमा कुरा गरेजस्तो गर्दै गेटबाट बाहिर निस्किएँ र माओवादी केन्द्रका संसदीय दलका नेतालाई फोन गरें । उहाँले गाडी पठाइदिनुभयो । त्यसैमा माओवादी संसदीय दल कार्यालयमा पुगें । मैले यसअघि रोजेको दल माओवादीमै रहने निर्णय गरिसकेकी छु, त्यहीं नै छु ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close